काठमाडौं :नक्कली शरणार्थी प्रकरणका योजनाकारमध्ये एक बेचन झालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
दुवै पक्षको बहसपछि अदालतले बिहीबार झासँग बयान लिएको थियो। बयानका क्रममा उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्नु भएको थियो ।
त्यसैगरी यो प्रकरणमा आफ्नो नाममा दुई करोडको चेक दिएका रामशरण केसीसहितलाई पनि उहाँले नचिन्ने बयान दिनु भएको थियो । यो प्रकरणका अन्य अभियुक्तहरू जेलमा रहे पनि उहाँ फरार हुनुहुन्थ्यो । झाला असार १४ गते राति कञ्चनपुरबाट पक्राउ गरिएको थियो ।



