काठमाडौँ : आज गाईजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ।
भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ ।तलेजु स्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ ।
दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्म शान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व भक्तपुरमा आज बिहानैदेखि मनाउन थालिएको छ । भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले आज बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोल टोल घुमाइएको छ ।
भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी नाच, माक प्याख नाच भएकाले गाईजात्रा हेर्न उपत्यका लगायत विभिन्न क्षेत्रका नागरिक यहाँ आउने गर्दछन् । आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ ।
टोल टोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्ने एवं विभिन्न नाच एवं व्यङ्ग प्रदर्शन गरिने भएकाले मध्याह्नपछि जात्रा आकर्षक हुने गर्दछ । हिन्द धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वी लोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।
पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आदेश दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।
घरघरबाट गाईजात्रा निकाले पछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो । यद्यपि भक्तपुरका संस्कृतकर्मी भने गाईजात्रा पर्व १४ औँ शताब्दीभन्दा अगाडि लिच्छवीकलाको अन्त्यमा सुरु भएको बताउँछन् ।
भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्पराअनुसार परालबाट निर्मित भैरव र परालबाट बनेको तमाचा निकालेर नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन रहिआएको छ । आजको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी श्रेष्ठको भनाइ छ । यस दिन पाप गरे मृत्युपश्चात् पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा आजको दिन कसैले पाप कर्म गर्न नहुने भनाइ रहेको उहाँ बताउनुहुन्छ ।
आजका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । आज बागमती प्रदेश सरकारले प्रदेशभर र केन्द्र सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएका छन् ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरा, पाल्पा, गुल्मी, अर्घाखाँची लगायत नेवार समुदायकाको विशेष उपस्थिति रहेका सहरमा धूमधामका साथ मनाइन्छ ।



