काठमाडौं :पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनु भयो । उहाँले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम नेपालको खेल क्षेत्रको केन्द्र बन्ने र खेलाडीको वृत्तिविकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
रङ्गशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताउनु भयो । रङ्गशालामा विभिन्न राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने उहाँको भनाइ थियो ।
अनुगमनका क्रममा कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वखेलकुदमन्त्री विमला केसी, कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याललगायत पदाधिकारीको उपस्थिति थियो ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले पेरिस पारा–ओलम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलगायत खेल पदाधिकारीलाई बधाई दिनु भएको छ । । रङ्गशाला अनुगमनपछि प्रचण्ड’ले यो ऐतिहासिक जीत नेपालको गौरवको विषय भएको बताउनु भयो ।



