काठमाडौँ : यस वर्ष नेपाल राष्ट्र बैंकले दशैं, तिहार, र छठपर्वका लागि नयाँ नोट नछाप्ने निर्णय गरेको छ। राष्ट्र बैंकले मौज्दातमा रहेका सुकिला नोटहरू मात्र वितरण गर्ने बताएको छ। बैंकका उपप्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार, खर्च व्यवस्थापनका लागि यो वर्ष नयाँ नोट नछाप्ने र मौज्दातमा रहेका सुकिला नोट मात्र साटिनेछ।
राष्ट्र बैंकले नोट छपाई, व्यवस्थापन, र ओसारपसारमा लाग्ने खर्चलाई ध्यानमा राख्दै वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको खर्च कटौती गर्ने योजना बनाएको छ। यसअघि चाडपर्वका बेला राष्ट्र बैंकले नयाँ नोट वितरण गर्थ्यो, तर कोरोना महामारीको समयमा नयाँ नोट साट्ने काम रोकिएको थियो।
यो वर्ष दशैंको टीकाको साइत असोज २६ गते रहेको छ, र धेरैले नयाँ नोटको प्रतीक्षा गरिरहेका भए पनि यो वर्ष बैंकले सुकिला नोट मात्र उपलब्ध गराउने निर्णय गरेको छ।



