काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिनु भएको छ । शनिवार काठमाडौँमा २१ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गर्नु भयो ।
उहाँले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको बताउनु भयो । उहाँले माओवादी युद्ध महान थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गर्नु भयो । उहाँले महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जनआन्दोलन फेल नहुने बताउनु भयो ।
ओलीले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोजे देशले स्वीकार नगर्ने बताउनु भयो । झापा आन्दोलनताका आफूले लिएका नीतिहरु पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शान्ति प्रक्रियामा आएको बताउनु भयो ।



