काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीप्रति देशैभर आकर्षण बढेको बताउनु भएको छ । महोत्तरीको रामगोपालपुरमा बुधबार बिहान आयोजित कार्यक्रममा उहाँले पार्टीको एजेण्डा र आफूनेतृत्वको सरकारले गरेका कामका कारण आकर्षण बढेको तर्क गर्नु भयो ।
राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ काम गरेकाले अरु पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको उहाँको दाबी छ ।
मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना सञ्चारको विकास हुँदै सुशासन र सामाजिक न्यायका पक्षमा चालेका कदम ऐतिहासिक रहेको उहाँको भनाई छ ।
भ्रष्टाचारका फाइल खोलेर कारबाही प्रक्रिया थाल्नेदेखि टरब्याजको समस्या समाधान र लाखौँ नागरिकताविहीन युवालाई नागरिकताका लागि कानूनी व्यवस्थालगायतका काम ऐतिहासिक उपलब्धि भएको उहाँले बताउनु भयो ।



