काठमाडौं : नेकपा(माओवादी केन्द्र)ले सभामुखले गरेको रुलिङप्रति आपत्ति जनाउँदा प्रतिनिधि सभा बैठक आगामी आईतवारसम्म धकेलिएको छ । गत भाद्र १२ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माओवादी केन्द्रले माग गरेको थियो ।
सभामुखले आवश्यक अध्ययन गरेर निर्णय लिन भन्दै सचिवालयलाई निर्देशन दिनुभएको थियो । सोही विषयको सन्र्दमा बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको रेकर्डबाट नहट्ने रुलिङ गर्नुभएको थियो । सो रुलिङ संविधान विपरित भएको भन्दै माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका हुन् ।
बैठकमा बोल्दै नेकपामाओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले रुलिङको बिरोध गर्ने बताउनु भयो । संविधान विपरित हिंसा शब्द प्रयोग भएको भन्दै आफूहरुले त्यसलाई नमान्ने बताउनु भयो । माननीयले त्यो दिन जनयुद्धलाई होच्याउने र जनमुक्ति सेनालाई अपमानित गर्नुभएको छ । जुन व्याख्या आएको छ यसमा हाम्रो दल बिरोध गर्दछ ।
लगत्तै नेकपा(एमाले)का सांसद रघुजी पन्तले हिंसा शब्द आफैँमा असंसदीय नभएको बताउनु भयो । उहाँले संसदमा कसैलाई व्यक्ति किटेर भन्न भने नपाइने बताउनु भयो । उहाँले सभामुखले संविधान र कानूनसम्मत रुलिङ गर्नुभएको भन्दै रुलिङलाई मानेर अघि बढ्नुपर्ने बताउनु भयो ।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सभामुखको रुलिङप्रति माओवादी केन्द्रको गम्भीर आपत्ति रहेको बताउनु भयो । उहाँले सो शब्द सच्याउन माग गर्नुभयो । यसरी माओवादी केन्द्रले सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।



