काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलोपल्ट सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
अख्तियारले लुम्बिनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उहाँकी आमा जनक नन्दनी भट्टराईविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार खोसेपछि पहिलोपल्ट अख्तियारले नै यो मुद्दा दायर गरेको हो।
संशोधित कानुनी व्यवस्थाअनुसार, कुनै निकायले अर्कै अपराधमा अनुसन्धान गर्ने क्रममा गैरकानुनी सम्पत्तिको चलखेल भएको फेला पारेमा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरी मुद्दा अघि बढाउन सक्छ। अब यो अधिकार अख्तियारदेखि जिल्ला प्रहरी कार्यालयहरू, भन्सार, राजस्व लगायतका निकायले पनि प्रयोग गर्न पाउनेछन्।



