काठमाडौँ : नेपाल वेयरहाउजिङ कम्पनीले वित्तीय वर्ष २०८०/८१ मा ८ करोड रुपैयाँको खुद नोक्सानी बेहोरेको छ। अघिल्लो वर्षको तुलनामा यो नोक्सानी ४ करोड १० लाख ५० हजार रुपैयाँ बढी हो। कम्पनीले आर्थिक वर्ष सम्पन्न भएको ३ महिनापछि आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार गत वर्षको नाफा ८ करोड ३० हजार रुपैयाँ ऋणात्मक रहेको छ।
वित्तीय विवरण र आम्दानी :
गत वर्ष कम्पनीले १ करोड २७ लाख रुपैयाँ रेभिन्यू संकलन गरेको छ। यो अघिल्लो वर्षको २६ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। अन्य आम्दानी २० लाख ७७ हजार रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको ५ लाख ४७ हजार रुपैयाँभन्दा वृद्धि हो। अघिल्लो वर्ष ३२ लाख ४६ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले गत वर्ष १ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
खर्च विवरण :
कम्पनीको प्रत्यक्ष सञ्चालन खर्च ९३ लाख १६ हजार रुपैयाँ रहेको छ। अन्य खर्च १ करोड रुपैयाँ र वित्तीय खर्च ३ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पुँजी र प्रतिसेयर विवरण :
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ र कम्पनीको प्रतिसेयर आम्दानी ११.६४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८८.४६ रुपैयाँ रहेको छ।
वित्तीय समायोजन :
कम्पनीले पुँजीगत कार्यसँग सम्बन्धित सम्पतिमा ब्याज खर्चलाई पुँजीकरण गर्नुपर्ने भए तापनि विगतका त्रैमासिक आर्थिक विवरणमा उक्त खर्च नाफा नोक्सानीको हिसाबमा लेखिएको थियो। यस त्रैमासिकमा उक्त खर्चलाई आवश्यक समायोजन गरिएको छ। साथै, सञ्चालनमा नआएका साइलो र उपकरणहरूमा ह्रास खर्च लिदाँ नाफा नोक्सानीमा देखिएको रकमलाई समायोजन गरिएको छ।
आगामी योजनाहरू :
आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा कम्पनीले सुनसरी इकाइमा १५ हजार मेट्रिक टन बराबरको ३ वटा साइलो र पर्सा इकाइमा २५ हजार मेट्रिक टन बराबरको ४ मध्ये ३ वटा साइलोमा भण्डारण कार्यको सुरुवात गरेको छ। पर्साको ७ हजार ५ सय मेट्रिक टनको साइलोमा भण्डारको सुरुवात नभएको र कपिलवस्तुको १५ हजार मेट्रिक टनको ३ वटा साइलो निर्माण सम्पन्न हुने क्रममा रहेको छ।
साइलोको निर्माण पछि कम्पनीको आयमा वृद्धि हुने अपेक्षा गरिएको छ। कम्पनीले अनाजको बोल कबोल गर्ने सम्बन्धी नीतिगत व्यवस्थापनको लागि सरकारको अपेक्षा राखेको छ। यसका लागि पूर्वाधार निर्माणमा कम्पनीले बैंकहरूसँग सम्झौतासमेत गरेको छ। बैंकहरूको लगानी सुरुवात भएपछि, कम्पनीलाई धितो सुरक्षणका लागि छुट्टै आम्दानी हुने अपेक्षा गरिएको छ।



