काठमाडौँ : भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रूपान्तरण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले यसलाई स्वीकृति दिएको हो।
गत बिहीबार मन्त्रिपरिषद्ले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेपछि, यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सञ्चालित र सरकारद्वारा सञ्चालन गरिएको यस अस्पतालका ३ सय भन्दा बढी कर्मचारी नियमावलीको अभावमा वृत्ति विकासबाट वञ्चित थिए।
सरकारको यस निर्णयसँगै अब सबै कर्मचारीहरू विकास समिति अन्तर्गत रहने भएका छन्। साथै, अस्पतालले विनियमावली निर्माण गरी कर्मचारीको वृत्तिविकासका लागि काम गर्न सक्ने बाटो खुलेको छ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा. अजित रायमाझीलाई नियुक्त गर्ने निर्णय गरेको छ। उहाँको कार्यकाल आगामी ४ वर्षसम्मको रहनेछ।



