काठमाडौँ : रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ जसमा २ महिनामा १ सय ८ उद्योग बन्द भएका छन्। आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी २ सय १७ वटा उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।
सोही आर्थिक वर्षमा कृषि तथा वनजन्य ४ सय १९, उत्पादनमूलक २ सय ८१, सेवामूलक २ सय ४४ र पर्यटन उद्योग १ सय ८६ वटा गरी १ हजार १ सय ३० वटा उद्योग दर्ता भएको थिए। कार्यालय प्रमुख लोककुमार कार्कीकानुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा उद्योग दर्ताको सङ्ख्या घटेको र उद्योग बन्द गर्नेको सङ्ख्या बढेको छ।
आर्थिक वर्ष २०७९/८० मा एक हजार १३० वटा उद्योग दर्ता भएकामा गत आर्थिक वर्षमा ८ सय ३७ वटा उद्योग मात्रै दर्ता भए । जबकि आर्थिक वर्ष २०७९/८० मा २ १७ उद्योग बन्द भएकामा आर्थिक वर्ष २०८०/८१ मा ३ सय ५४ वटा उद्योग बन्द भएका छन् ।
उद्योग बन्द हुने क्रम भने अहिले पनि रोकिएको छैन। चालु आर्थिक वर्षको २ महिनामै १ सय ८ वटा उद्योग बन्द भएका छन् । साउनमा ९१ उद्योग दर्ता हुँदा ४१ बन्द भएका र भदौमा १ सय ७३ उद्योग दर्ता हुँदा ६७ वटा बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख कार्कीले बताउनुभयो।
“रुपन्देहीमा उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता पनि घट्दै जानुले पनि आर्थिक मन्दीको प्रभाव मान्न सकिन्छ”, उहाँले भन्नुभयो, “अर्को कारण अहिले सरकारले पाँच लाखभन्दा मुनिका उद्योगलाई गाउँपालिकामै दर्ताको व्यवस्था गरेकाले पनि दर्ता सङ्ख्या घटेको हुन सक्छ।” आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो।
“रुपन्देही औद्योगिक केन्द्रका रूपमा रहेको छ तर पछिल्लो समय ठूला–ठूला उद्योगमध्ये कतिपय बन्द भइसके, सञ्चालनमा रहेकामध्ये ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा रहेका छन्। यहाँ उत्पादित वस्तुहरूका उपभोक्ताको सङ्ख्यामै कमी आएको छ,”उहाँले भन्नुभयो “अधिकांश उपभोक्ता विदेसिएका कारण पनि उद्योगहरु मारमा परेका छन्।”
यहाँ करिब १० वटा सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन् भने व्यवसाय र अन्य निर्माणजन्य उद्योगहरूको अवस्था पनि उस्तै छ। उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सरकारले प्रवर्द्धनात्मक तथा सहुलियतका कार्यक्रम अगाडि बढाउनुपर्ने धेरैको माग छ। रासस



