काठमाडौँ : नेपालको बैंक तथा वित्तीय क्षेत्रमा हाल निष्क्रिय कर्जा (NPL - Non-Performing Loan) वृद्धि भइरहेको छ। जसको प्रमुख कारण अर्थतन्त्रमा आएको सुस्तता हो।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट कुल ५१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। जसको ३.८६ प्रतिशत अर्थात् १ खर्ब ९९ अर्ब ३७ करोड रुपैयाँ कर्जा निष्क्रिय रहेको छ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष निष्क्रिय कर्जा थप बढेको छ। गत आर्थिक वर्षको साउन महिनामा कुल ४८ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा ३.०२ प्रतिशत अर्थात १ खर्ब ४६ अर्ब ६८ करोड रुपैयाँ कर्जा निष्क्रिय थियो। चालु आर्थिक वर्षको साउन महिनासम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा १ खर्ब ७१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। जुन गत वर्षको तुलनामा ४३ अर्बले बढी हो।
यस्तै, विकास बैंकहरूको निष्क्रिय कर्जा १८ अर्ब ८ करोड रुपैयाँ रहेको छ, जुन कुल कर्जाको ३.६२ प्रतिशत हो। यो अघिल्लो वर्षको तुलनामा ६ अर्बले बढी हो। फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा पनि उल्लेख्य रूपमा बढेर ९.८७ प्रतिशत पुगेको छ। जुन गत वर्षको तुलनामा २ अर्ब ८४ करोड रुपैयाँले बढी हो।
अर्थतन्त्रको सुस्तताले नागरिकहरूको ऋण तिर्ने क्षमता कमजोर बनेको र बैंकहरूले कर्जा असुलीमा चुनौती सामना गरिरहेको देखिन्छ। निष्क्रिय कर्जा वृद्धिले बैंकिङ क्षेत्रको वित्तीय स्थायित्वमा नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई समाधान गर्न अर्थतन्त्रको गति पुनःस्थापित गर्नु अत्यावश्यक छ।



