काठमाडौँ : चाडपर्वको लागि अग्रिम टिकट बुकिङ असोज १२ गते (शनिबार) देखि खुला गरिने सहमति भएको छ।
मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस निर्णय गरेको हो। यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँको यात्राको सहजताको लागि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए।
बैठकमा सकेसम्म अनलाइन बुकिङको व्यवस्था मिलाउने निर्णयसमेत भएको छ। सार्वजनिक सवारीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिनुपर्ने र अनाधिकृत काउन्टर, परिचय पत्र वा पोशाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री नियन्त्रण गरिने निर्णय भएको छ।
त्यस्तै, बैठकले असोज १७ गतेदेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ। यात्रुवाहक सवारी साधनलाई यस अवधिमा रुट परमिट खुला गरी सञ्चालन गरिनेछ। ट्रेलरलगायत ठूला सवारी साधनहरूलाई असोज १७ पछि सडकमा रोक लगाउने निर्णय पनि भएको छ।
चाडपर्वका यात्रुलाई सहजीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने निर्णय भएको छ। लामो तथा मध्यम दूरीमा चल्ने सवारी साधनले क्यु प्रणाली पालना गर्नुपर्नेछ र रिजर्भमा जान अनुमति दिइने छैन। खाना तथा खाजाका ठाउँहरूमा भिडभाड कम गराउनुपर्ने तथा सडक मर्मत सम्भारको पनि ध्यान राख्नुपर्ने निर्णय बैठकमा गरिएको छ।



