काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा रेमिटेन्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। यस अवधिमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो। साथै, अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ, अघिल्लो वर्षको ८७ करोड ९८ लाखको तुलनामा उल्लेख्य वृद्धि भएको हो।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ९२८ छ, जसमा पुनः श्रम स्वीकृति लिनेहरूको संख्या २२ हजार ६४७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी संख्याहरू क्रमशः ३९ हजार १ सय ५२ र १६ हजार ४ सय २३ थिए। जसले पुनः श्रम स्वीकृति लिनेहरूको उल्लेख्य वृद्धि देखाउँछ।
समीक्षा अवधिमा, खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको १ खर्ब २८ अर्ब २१ करोड रुपैयाँको तुलनामा बढेको छ।



