काठमाडौँ : राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोरअन्तर्गत मुस्ताङको जोमसोमदेखि कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ। यो सडकलाई ११ मिटर फराकिलो बनाउँदै आक्सपाल्ट प्रविधिको प्रयोग गरेर कालोपत्र गरिएको हो। बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा २८ करोड १४ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरिएको थियो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँका अनुसार कालो पत्रको काम पूरा भइसकेको छ भने सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको छ। साथै, कागबेनीदेखि कोरलासम्मको दुई किलोमिटर र एक्ले भट्टीदेखि कागबेनी जोड्ने एक किलोमिटर वैकल्पिक सडकमा पनि कालोपत्र सम्पन्न भएको छ।
यो करिडोरले जोमसोमलाई चीनको तिब्बत स्वशासित क्षेत्रको कोरला नाकासँग जोड्नेछ। आयोजनाको ११० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भइसकेको छ।चराङ–छोसेर खण्डमा ९२ प्रतिशत काम सम्पन्न भएको छ, र यसको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सम्पूर्ण सडक गाभ्रेल हुनेछ।
काली गण्डकी करिडोरको विकासले क्षेत्रीय व्यापार र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



