काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ।
नेपालका विभिन्न क्षेत्रमा हाल ठूलो वर्षाले नदी तथा खोलाहरूमा बाढी आएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि यस्तै मौसमको सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अविरल वर्षाका कारण देशभरका केही प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। जसले देशको यातायात व्यवस्थामा गम्भीर समस्या उत्पन्न गरेको छ। काठमाडौं-चितवन, काठमाडौं-सिन्धुली, मुग्लिङ-पोखरा र चितवन-बुटवल जस्ता महत्वपूर्ण सडकहरूमा पहिरो, बाढी र भूस्खलनका कारण आवागमन पूर्ण रूपमा बन्द छ।
साथै, काभ्रे-दोलखा, बेनी-मुस्ताङ, कैलाली-बझाङ-बाजुरा, र झापा-इलाम सडकहरू पनि अवरुद्ध भएका छन्। यी क्षेत्रहरूमा भारी वर्षापछि भूक्षय र पहिरोका घटना बढेका छन्। जसले गर्दा सडक यातायात ठप्प भएको हो।
सरकारले ती क्षेत्रहरूमा यात्रा गर्ने व्यक्तिहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ। साथै, सम्बन्धित अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन र मौसममा सुधार नआएसम्म यात्रा नगर्न आग्रह गरेका छन्। अहिलेका लागि यस मार्गहरूमा यात्रा गर्नु असुरक्षित मानिएको छ र आवश्यक सुधार नभएसम्म बन्द रहनेछ।
शुक्रबार राति साढे १० बजेसम्म देशभरका ५९ वर्षा मापन केन्द्रले वर्षाले चेतावनीको तह पार गरेको जनाएका छन्। काठमाडौं उपत्यकामा बागमती नदीको खोकना मापन केन्द्र र बाराको पसाहा खोलाको महेशपुर मापन केन्द्रमा बाढीले खतराको सतह नजिक पुगेको देखिएको छ। यसले ती क्षेत्रहरूमा थप बाढीको जोखिम रहेको संकेत गर्दछ।
बाढी र भारी वर्षाका कारण झापा र मोरङमा जोखिमग्रस्त व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको छ। झापामा ४ सयभन्दा बढी र मोरङमा एक सयभन्दा बढी व्यक्तिहरूलाई स्थानान्तरण गरिएको छ। यद्यपि, झापामा तीन जना बेपत्ता भएको र उद्धारको काम भइरहेको छ।
नेपाल प्रहरीका अनुसार काठमाडौं, बैतडी, र मोरङमा पनि एक–एक जना बेपत्ता भएका छन्। इलाममा बाढीले बगाएर एक जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी र स्थानीय प्रशासनले उद्दार कार्यलाई तिव्रता दिइरहेका छन्, तर मौसमका कारण चुनौतीपूर्ण परिस्थितिहरू सामना गर्नुपरेको छ।
सामान्यतया मौसमको अवस्था प्रति सजग रहनुहोस् र मौसम परिवर्तनका लागि तयार रहनुहोस्। सम्भावित स्थानहरूमा भारी वर्षा, गेग्रान बहाव, बाढी, पहिरो, र भू-क्षय जस्ता प्रकोपहरूको जोखिम रहेकाले विभागले सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने सम्भावना रहेको छ।



