काठमाडौँ : नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीलाई १००ः६२.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। गत शुक्रबार बसेको बोर्डको बैठकले लामो समयदेखि अल्झिएको हकप्रद स्वीकृत गर्ने निर्णय गरेको हो।
हकप्रद शेयर निष्कासनको विवरण :
कम्पनीले १००ः६२.५ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९०.५० रुपैयाँको चुक्तापुँजीको ६२.५ प्रतिशत अर्थात् ९५ करोड कित्ता शेयर जारी गरिनेछ। हरेक कित्ता शेयरको अंकित मूल्य १०० रुपैयाँ हुनेछ।
हकप्रदको आकारमा परिमार्जन :
यसअघि एनएलजी इन्स्योरेन्सले १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९०.५० रुपैयाँको ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो। तर, बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त नहुँदै कम्पनीले १८ औँ वार्षिक साधारणसभाबाट ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेपछि हकप्रदको आकार घटाइएको हो।
यस हकप्रद शेयर निष्कासनको व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहनेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ। यस हकप्रद निष्कासनपछि एनएलजी इन्स्योरेन्स कम्पनीले यस आवश्यक मापदण्ड पूरा गर्नेछ।



