काठमाडौँ : नेपालमा बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ। विपद्का घटनामा ४२ जना बेपत्ता र १ सय ११ जना घाइते भएका छन्। विपद् प्रभावित क्षेत्रमा सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार मानिसको उद्धार गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुली, र ललितपुर लगायत विभिन्न जिल्लाहरूबाट घाइते र अलपत्र परेका १ सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
प्रभावित क्षेत्रमा खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री वितरण गरिएको छ र घाइतेहरूको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार भइरहेको छ। साथै, खोज, उद्धार र राहत कार्यलाई उच्च प्राथमिकता दिइएको छ र अवरुद्ध राजमार्गहरू सञ्चालनमा ल्याउन पनि पहल गरिरहेको मन्त्रालयले जनाएको छ।



