काठमाडौँ : विश्व बैंकले नेपालका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ। जुन गत वर्षको ३.९ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि हो।
यस प्रक्षेपणको आधारभूत कारणहरू पर्यटन आगमनमा वृद्धि, जलविद्युत् उत्पादनमा प्रगति र धानको उत्पादनमा सुधार रहेको बताइएको छ। निजी क्षेत्रको पनि सकारात्मक योगदान रहने अनुमान गरिएको छ। जसमा खुकुलो मौद्रिक नीतिले सहायक भूमिका खेल्नेछ।
तर, वित्तीय क्षेत्रमा खराब कर्जाले जोखिम बढाएको र निजी क्षेत्रको ऋण पहुँचमा समस्या आउने चेतावनी पनि दिइएको छ। साथै, नीतिगत अस्थिरता र सुविधा कटौतीका कारण लगानीमा कमी आउने सम्भावनासँगै पुँजीगत खर्चमा कमीले पूर्वाधार विकासमा संकुचन आएकोले नेपालका लागि यो वर्ष सहज नहुने संकेत विश्व बैंकले गरेको छ।
आप्रवासी श्रमिकले पठाउने रेमिट्यान्सको प्रवाहमा पनि असर पर्ने सम्भावना औंल्याइएको छ। विशेषगरी गल्फ मुलुकहरू र मलेसियामा आएका समस्याहरूले रिपोर्टमा नेपालले दिगो आप्रवासन व्यवस्थापनको खाँचो रहेको र यसलाई सुधार गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको बताइएको छ।
विकासलाई गति दिन पूर्वाधार, सुशासन, मानव पुँजी विकास र निजी क्षेत्रको सुधारमा ध्यान दिनुपर्ने पनि प्रतिवेदनले औंल्याएको छ।



