काठमाडौँ : दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा ठूलो संख्यामा भक्तजनहरूको भीड लागेको छ। प्रसिद्ध शक्तिपीठको रूपमा चिनिएको यो मन्दिर दशैँ र चैतेदशैँमा विशेषरूपमा प्रमुख गन्तव्य बन्ने गर्दछ।
कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काका अनुसार चितवन, बुटवल, स्याङ्जा, पोखरा तथा छिमेकी जिल्लाबाट भक्तजनहरू दर्शनका लागि बागलुङ कालिका मन्दिर आइरहन्छन्। यसै क्रममा मुक्तिनाथमा सोह्र श्राद्ध सम्पन्न गरेर फर्किएका श्रद्धालु भक्तजन हरूले पनि यहाँ दर्शन गरेका कारण मन्दिरमा झन् भीड बढेको थियो।
पोखराबाट आएका भक्तजन पोषण शर्माले भने, ‘मुक्तिनाथमा श्राद्ध गरेपछि कालिकाको दर्शन नगरी फर्कन हुँदैन। यहाँ पूजा गर्दा मनमा शान्ति मिल्छ। बागलुङ कालिका हाम्रो आस्थाको धरोहर हो।’
होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीका अनुसार पछिल्लो केही दिनदेखि बागलुङका होटलहरू भक्तजनले भरिभराउ छन्। मन्दिरमा आएका भक्तजनहरूको यकिन संख्या त छैन तर खपत भएका नरिवल र बलिको संख्याका आधारमा अनुमान गर्ने चलन छ। हरेक वर्ष दशैँमा करिब चार लाखभन्दा बढी नरिवल बिक्री हुने तथ्याङ्क छ।
पाँच सय वर्ष पुरानो मानिएको यो मन्दिरमा निरन्तर पूजा हुँदै आएको। र विशेष गरी दशैँ तथा चैतेदशैँमा यहाँ ठूलो भीड लाग्ने गर्छ



