काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरूको आयोजना गर्दै मनाइरहेको छ। यस अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय र सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर हर्षित उल्लासका साथ वार्षिकोत्सव मनाएको छ।
बैंकले प्रत्येक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ। यस वर्ष २४औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई विशेष सुविधाहरू प्रदान गर्दै "उत्सव र सहयोग" भन्ने नाराका साथ देशभरका विभिन्न शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।
बैंकले वृद्धाश्रम, बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण र वित्तीय साक्षरता प्रवर्द्धन जस्ता गतिविधिहरूलाई प्राथमिकता दिइरहेको छ। केही दिनअघि मात्र आएको बाढी र पहिरोमा परी विस्थापित काभ्रे जिल्लाका रोशी गाउँपालिका १ र २ का पीडित परिवारलाई बैंकले २०० थान ब्लाङ्केट प्रदान गरेको छ।
बाढी पहिरोका कारण अवरुद्ध भएका मार्गहरूका बीच बैंकले ब्लाङ्केटहरू रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको छ। यसबाहेक बैंकका विभिन्न शाखा कार्यालयहरूले स्थानिय तहमा आवश्यक सामाजिक कार्यमा सक्रियतापूर्वक संलग्नता जनाइरहेका छन्।
२४औँ वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकहरूलाई लक्षित विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ। असोज १ देखि ३० गतेसम्म बैंकको मोबाइल बैंकिङ MBL M SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट र डलर प्रिपेड कार्डका नयाँ ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ। यस योजनामा डेबिट कार्ड लिने ग्राहकहरूले पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछि दुई वर्षसम्म कार्ड नवीकरण शुल्कमा पनि शतप्रतिशत छुट पाउनेछन्।



