काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनलद्वारा १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आउँदो कात्तिक १२ गते काठमाडौँको डिल्लीबजारस्थित अमृतभोमा बिहान ९ बजे सभा आह्वान गरेको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश समावेश छ।
हाल बैंकको २०८१ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ रहेको छ। बैंकले ४ प्रतिशत बोनस शेयरको रूपमा ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रुपैयाँ २३ पैसा र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांशको रूपमा २ करोड ९८ लाख ९६ हजार ७ सय ८७ रुपैयाँ ३८ पैसा वितरण गर्नेछ।
बैंकले साधारण सभा प्रयोजनका लागि असोज २९ गते बुक क्लोज गरिने भएको छ। असोज २३ गतेसम्म कायम सेयर धनीहरूलाई मात्र सभा र लाभांश प्राप्त गर्न अनुमति दिइनेछ। किनकि असोज २४ गतेदेखि २८ गतेसम्म दसैँ बिदा परेको छ।
सभामा अर्को महत्त्वपूर्ण प्रस्ताव भनेको सिटिजन्स बैंक र अन्य वित्तीय संस्थाहरू गाभ्न र गाभिने सम्बन्धी अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने हो। साथै, प्रबन्धपत्रमा संशोधन, जारी पुँजी र चुक्ता पुँजी वृद्ध र शेयरको किसिम सम्बन्धी व्यवस्थाहरू पनि सभाले पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखा परीक्षकको प्रतिवेदनलाई स्वीकृति दिने र चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने छ।



