काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूमा आवासीय व्यक्तिगत घर कर्जाको माग र प्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौसम्ममा ३ खर्ब ९३ अर्ब ६० करोड रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको देखाएको छ।
यो संख्या अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब ६५ अर्ब २० करोड रुपैयाँ थियो। यसले गर्दा यो वर्ष ७.७८ प्रतिशतले कर्जा प्रवाहमा वृद्धि भएको हो।
नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिलाई अधिकतम २ करोड रुपैयाँसम्मको आवासीय घर कर्जा प्रदान गर्न सक्छन्।
साथै घरजग्गा (रियल स्टेट) कर्जाको माग पनि उल्लेखनीय रूपमा बढिरहेको छ। चालु आर्थिक वर्षको भदौसम्ममा २ खर्ब ६२ अर्ब ९५ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ४१ अर्ब रुपैयाँ थियो। यसरी, घरजग्गा कर्जामा ९.०९ प्रतिशतको वृद्धि देखिएको छ।



