काठमाडौँ : डेंगुको संक्रमण बढेसँगै नेपालमा रगतको कमीहुन थालेको छ। नेपाल रेडक्रस सोसाइटीका अनुसार बाढी, पहिरो, डेंगु र चाडपर्वका कारण उपत्यका लगायत देशभर रगत संकलनमा कमी आएको छ।
रेडक्रसका केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले भने "डेंगुका कारण प्लेटलेट रिच प्लाज्माको (पिआरपी) मागमा वृद्धि भएको छ। चाडपर्वका कारण रगतको संकलन कम हुँदै गएकाले माग पूरा गर्न कठिनाइ भइरहेको छ।"
उनले थपे "रातो रगत र होल ब्लडको हाम्रोमा पर्याप्त मात्रा छ। तर पिआरपीको माग दिनानुदिन बढ्दै गएको छ। एक बिरामीका लागि ७ वटासम्म पिआरपीको आवश्यकताप्रति हामी संघर्ष गरिरहेका छौं।"
गुप्ताले पनि चाडपर्वको समयमा रगतको संकलनमा कमी आउने र प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने कुरा उल्लेख गर्दै "पिआरपी बनाउनको लागि ६ देखि ८ घण्टाभित्र रगत छुट्याउनुपर्छ। स्टक ब्लडबाट यो बनाउनु हुँदैन।"
उनले डेंगुको महामारीका कारण रगतको अभाव हुँदा सबैलाई रक्तदान गर्न आह्वान गरे। "हामीले दैनिक एक सयदेखि डेढ सय युनिट रगत संकलन गर्दैछौं। पिआरपीको मागलाई सम्बोधन गर्नका लागि आवश्यक कदम चालिएका छन्" गुप्ताले भने।
नेपाल रेडक्रस सोसाइटीले डेंगुको संक्रमणका कारण रगतको कमी भइरहेको बेला नागरिकलाई रक्तदानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।



