काठमाडौं : मानिसहरू प्रायः शरीरलाई आवश्यक पर्ने पर्याप्त मात्रामा पानी पिउँदैनन्। अमेरिकाको द नेशनल एकेडेमी अफ मेडिसिनका अनुसार पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी पिउन सुझाव दिएको छ। शरीरमा पर्याप्त पानी नहुँदा विभिन्न नकारात्मक प्रभावहरू पर्न सक्छन्।
पानीको कमी हुँदा शरीरका जोर्नीहरू सुख्खा हुने, व्यायाम गर्दा चाँडै थकान लाग्ने र कुनै पनि काम गर्न उत्साह नहुने हुन्छ। यसका साथै स्मरणशक्ति कमजोर हुने, मन फिका हुने र एकाग्रता घट्ने सम्भावना हुन्छ। शरीरमा पानीको मात्रा पुगे नपुगेको तिर्खा र पिसाबको रंगबाट सजिलै थाहा पाउन सकिन्छ। यदि तिर्खा लाग्दैन र पिसाबको रंग सफा छ भने शरीरमा पर्याप्त पानी छ भन्ने बुझिन्छ। शरीरमा पर्याप्त पानी हुँदा मुटुले सजिलै रक्तसञ्चार गर्न सक्छ। मांसपेशीमा पनि रक्तप्रवाह राम्रो हुन्छ। तर पानीको कमी भए मुटुले रगत प्रवाह गर्न थप मेहनत गर्नुपर्छ।
पानीको पर्याप्तता मिर्गौलाका लागि पनि महत्त्वपूर्ण छ। पर्याप्त पानीले मूत्र प्रणाली स्वस्थ राख्छ। संक्रमणको सम्भावना घटाउँछ। पानीको कमीले पिसाबमा नुन र खनिज जम्मा भएर मिर्गौलामा पत्थरी हुन सक्छ। शरीरमा आवश्यक पानी आपूर्ति गर्न पानी पिउनुका साथै पानीयुक्त फलफूल र सागपात पनि खानेकुरामा समावेश गर्नुपर्छ। जस्तै: खरबुजा, काँक्रो, स्याउ, गाजर, चुकन्दर आदिले पनि शरीरलाई पानीको कमी हुन दिँदैन।
पानीको पर्याप्त मात्राले पाचन प्रणालीलाई पनि सहयोग गर्छ। जसले कब्जियतलाई रोक्छ। तर पानीको कमी हुँदा माइग्रेनको समस्या हुन सक्छ। टाउको दुख्न सक्छ र दुखाइ लम्बिन सक्छ। यद्यपि अत्यधिक पानी पिउनु पनि सही होइन। किनभने शरीरले त्यति धेरै पानीलाई पचाउन सक्दैन।
अन्ततः शरीरलाई स्वस्थ राख्न आवश्यक मात्रामा पानी पिउनु जरुरी छ। तर अत्यधिक वा अत्यन्त कम मात्रा दुवै हानिकारक हुन सक्छ।



