काठमाडौँ : मनसुन समाप्त भएसँगै विश्वभरका साहसी सिकारीहरू ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न आएका छन्। यस सिजनको पहिलो चरणमा नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि. जावलाखेलबाट गएको पहिलो टोलीले १ नाउर, १ झारल र २ बनेलको सिकार गरेको छ। ब्लेइजर आर ९३ हतियारसहित घुस्तुङ्ग ब्लक पुगेका सिकारी भिसभिसले नाउरको सिकार गरेर टोलीसहित चाँडै फर्किएका छन्।

भिसभिसलाई असोज २५ देखि कात्तिक ८ सम्म ढोरपाटनको घुस्तुङ्ग ब्लकमा सिकार खेल्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति दिइएको थियो। आरक्षका वरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र कडेलका अनुसार टोलीले सिकार सम्पन्न गरेर फिर्ता भएको हो।
अन्य ११ जना विदेशी सिकारीले पनि असोज २५ देखि मंसिर १४ सम्म निर्देशित जनावरको सिकार खेल्न अनुमति पाएका छन्। अमेरिकन नागरिक ड्यालन आर कार्टरले दोगाडी र सूर्तिवाङ क्षेत्रमा १ नाउर र २ बनेलको सिकार गर्नेछन्। अर्का अमेरिकन नागरिक निकोलस म्याक स्लेइले दोगाडीमा १ नाउरको सिकार गर्नेछन् भने डेभिल्यान पार्टेनले दोगाडी र सेन्ङ क्षेत्रमा १ नाउर, १ झारल र १ बनेलको सिकार खेल्ने योजना बनाएका छन्।
स्पेनका एडुरिड एल्गुएसिलले घुस्तुङ्ग र फागुने क्षेत्रमा १ नाउर र १ बनेलको सिकार खेल्नेछन्। यस पटक हिमालयन वाइल्डलाइफ आउटफिटर्स प्रा.लि. काठमाडौंका सिकारीहरूले फागुने, सेन्ङ, सुनदह र सूर्तिवाङ क्षेत्रमा ४ नाउर, ३ झारल र ५ बनेलको सिकार गर्नेछन्। मेक्सिकोका सिकारी डेल्फिनो अल्बर्टोले फागुने ब्लकमा, डच नागरिक कार्स्टेन युडोले सेन्ङ र सुनदह क्षेत्रमा र निल्स ईन्डिटरले सुनदह, सेन्ङ र सूर्तिवाङ क्षेत्रमा सिकार गर्नेछन्। अर्का अमेरिकन नागरिक एरिक जोसेफले ह्वाइट माउन्टेन बन्दुकको प्रयोग गरी सुनदह क्षेत्रमा नाउरको सिकार गर्नेछन्।

ओपन नेपाल वाइल्डलाइफ ट्रेक प्रा.लि.का सिकारीहरूले रूकुम पूर्वको घुस्तुङ्ग ब्लकमा २ झारल र १ नाउरको सिकार गर्नेछन्। बुल्गेरियन नागरिक याकोभ भेलिच्को र स्पेनका मार्टिन एल्गुवासिलले कात्तिक १४ देखि २७ सम्म ब्लेइजर हतियारसहित सिकार खेल्नेछन्। ग्लोबल सफारी नेपाल प्रा.लि.का लाटभियाका सिकारी मिस्टर आइभर्सले कार्तिक ३० देखि मंसिर १३ सम्म बार्से र घुस्तुङ्ग क्षेत्रमा २ नाउर, १ झारल र १ बनेलको सिकार गर्नेछन्।
यस वर्षको पहिलो सिकार सिजनमा ढोरपाटन सिकार आरक्षले १ करोड ४५ लाख ९२ हजार ४ सय रूपैयाँ राजस्व संकलन गरेको छ। नेपाल ट्राभल एक्सपिडिसनका व्यवस्थापक कृष्ण थापाले ढोरपाटन सिकार आरक्षलाई साहसी र सौखिन सिकारीहरूको प्रमुख गन्तव्य भएको बताएका छन्। हिमालय क्षेत्रको नाउर प्रजातिका जनावरहरूको सिकार खेल्न नेपालमा सिकारीहरूको आकर्षण बढ्दै गएको छ।



