कात्तिक १८, काठमाडौँ : गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय ४४ पुगेको छ। यस्तै, भूकम्पबाट १ सय ४० जना घाइते भएका छन्।
प्रहरीका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ। उनीहरुमध्ये ६६ जना महिला र २६ जना पुरुषको मृत्यु भएको हो।
रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिनुभयो। शाहीका अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन्। रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।
भूकम्पका कारण मध्य पहाडी लोक मार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठविसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्धार राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय भएर काम गर्न भनेका छन्। उनी स्वास्थ्यकर्मीसहित अत्यावश्यक सामग्री लिएर भूकम्पले क्षति गरेको क्षेत्र पुग्दैछन्।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ।



