काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले विभिन्न स्वास्थ्य सुविधाहरूमा सुधार गर्दै नागरिकहरूको सेवा गुणस्तर बढाउन महत्वपूर्ण कदम चालेको छ।
सबै अस्पतालहरूमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था गरिएको छ। जसअन्तर्गत वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाको प्रतीक्षा अवधि तीन महिनाभन्दा बढी नहुने प्रावधान लागू गरिएको छ।
मन्त्रालयले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने योजना अघि सारेको छ। यस अवधिमा क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत भएको छ। जसका आधारमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य प्रमुख अस्पतालहरूमा क्यान्सर सेवा विस्तार भएको छ।
मुटु रोगको उपचार सेवा पनि सबै प्रदेशमा विस्तार गर्ने योजना अगाडि सारिएको छ। शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा मधेश र गण्डकी प्रदेशमा यो सेवा सुरु भइसकेको छ। अन्य प्रदेशमा छिट्टै विस्तार गरिनेछ।
सरकारले संघीय अस्पतालहरूमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। जसअन्तर्गत वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत प्रमुख अस्पतालहरूमा यो सेवा प्रदान गरिएको छ।
सुत्केरी र गर्भवती महिलाहरूका लागि मानसिक स्वास्थ्य ओपिडी सेवा सुरु गरिएको छ। नवजात शिशुहरूको वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा पनि सुरु भएको छ।
ज्वलनको निःशुल्क उपचार सेवा देशभरका प्रमुख अस्पतालहरूबाट प्रदान गर्ने व्यवस्था गरिएको छ। वीर अस्पतालमा १५ शय्याको सुविधा सम्पन्न ज्वलन उपचार वार्ड सञ्चालनमा ल्याइएको छ।
औषधिको उपलब्धता पनि सुधार गर्दै हाल संघीय अस्पतालहरूमा ९० प्रतिशत औषधि उपलब्ध गराउने लक्ष्यमा पुगेको छ। साथै विभिन्न अस्पतालहरूमा थप फार्मेसी काउन्टरहरू खोलिएका छन्।
कैलालीको गेटा अस्पतालमा ३५ शय्याको अन्तरङ्ग सेवा सुरु भएको छ। अन्य संघीय अस्पतालहरूमा समयमै उपचार दिने व्यवस्था गर्न टोकन प्रणाली लागू गरिएको छ।
मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमको पुनःसंरचनाका लागि उच्चस्तरीय कार्यदल गठन गरेको छ। यसका साथै महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायातको सुविधा उपलब्ध गराइएको छ।
निरोगी नेपाल अभियान अन्तर्गत क्यान्सर र नसर्ने रोगको स्क्रिनिङ, स्वस्थ जीवनशैलीको प्रवर्द्धन र सडक दुर्घटना न्यूनीकरणमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।



