काठमाडौँ : नेपालका अग्रणी स्टील उत्पादक कम्पनीमध्ये एक श्री स्टील उद्योगले सन् २०२४ मा करिब ६ अर्ब रुपैयाँको व्यापार गरेको छ। उद्योगको हालै प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार यस वर्ष उद्योगले ५ अर्ब ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
गत वर्ष सन् २०२३ मा यस उद्योगले ७ अर्ब ४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। जसले देखाउँछ कि उद्योगको व्यापार करिब २ अर्ब रुपैयाँले घटेको छ। यो २८.८९ प्रतिशतले कम भएको हो।
उद्योगको व्यापारमा पहिलेदेखि नै विविधता देखिन्छ। सन् २०२२ मा उद्योगले ६ अर्ब १३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो। भने सन् २०२१ मा ७ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। सन् २०२० मा यो व्यापार करिब ३ अर्ब २५ करोड ८० लाख रुपैयाँ थियो।
सन् २०१६ मा स्थापित यो उद्योगको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन रहेको छ। उद्योगमा तीन प्रमुख व्यावसायिक समूहका ८ जनाको लगानी छ।
सिद्धार्थ ग्रुपसँग ४३ प्रतिशत सेयर स्वामित्व छ भने, केडियो ग्रुपसँग २२ प्रतिशत, मुरार्का समूहसँग २१ प्रतिशत र जगदम्बा इनभेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीसँग १४ प्रतिशत सेयर स्वामित्व रहेको छ।
उद्योगले आफ्नो दीर्घकालीन कर्जा १ अर्ब ३३ करोड ८० लाख र अल्पकालीन कर्जा ४ अर्ब ४४ करोड ८० लाख रुपैयाँका लागि रेटिङ गराएको छ। इक्रा नेपालले उद्योगलाई ए फोर रेटिङ प्रदान गरेको छ।
उद्योगको नेतृत्व जगदीशकुमार अग्रवालले गरिरहेका छन्। जो उद्योगका सञ्चालक समितिको अध्यक्ष हुन्। उनी अर्घाखाँची सिमेन्टका अध्यक्ष पनि हुन्। अन्य क्षेत्रमा पनि उनको ठूलो लगानी छ।
श्री स्टील उद्योगले भारतमा छड निर्यात गरेर नेपालकै पहिलो स्टील निर्यातकर्ता बन्न सफल भएको थियो। २०७९ को साउनमा बेलहिया नाका हुँदै ३५ टन छड निर्यात गरेर उद्योगले यो उपलब्धि हासिल गरेको हो।
उद्योगले जापानी प्रविधिको स्वचालित प्लाण्टबाट उत्पादन गरेको प्राइम छडलाई भूकम्प र अग्नि प्रतिरोधात्मक दाबी गरेको छ। जसले गुणस्तरमा नयाँ मानक तय गरेको छ।



