काठमाडौँ : चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक र बाह्य पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको छ। हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकनका लागि यहाँ पर्यटकहरूको भीड लागेको छ, भनी होटल व्यवसायीहरूले बताएका छन्।
दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनेको सडक मर्मत भएपछि पोखरेबगर - घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने भएपछि यहाँ पर्यटकको संख्या ह्वात्तै बढेको छ। घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनका अनुसार तिहार र छठ पर्वमा आन्तरिक पर्यटकलाई होटल तथा लजहरूले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन्।
म्याग्दी सदरमुकाम बेनीबाट दैनिक एक सयजति पर्यटक घोडेपानी आउने गरेका छन्, भने कास्की, पर्वत र म्याग्दीका विभिन्न पदमार्गहरूबाट पैदल यात्रामा आउने पर्यटकहरूको सङ्ख्या पनि उल्लेख्य छ।
पुनहिलबाट हिमशृङ्खलाका ८ हजार मिटर अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालका साथै झन्डै २० भन्दा बढी हिमचुचुराहरू नजिकबाट हेर्न पाइन्छ। अधिकांश पर्यटक घान्द्रुक र अन्नपूर्ण बेसक्याम्पतर्फ जाने क्रममा घोडेपानी हुँदै यात्रा गर्छन्।
समुद्री सतहदेखि २ हजार ८ सय मिटर उचाइमा रहेको घोडेपानीमा २६ वटा होटल छन्। जसमा दैनिक १ हजार २ सय पर्यटक बस्न सक्छन्। यहाँ रु १ हजार ५ सय देखि रु ५ हजार सम्मको प्याकेजमा सुविधायुक्त कोठाहरू उपलब्ध छन्।
हिमाल, पहाडी भूगोल र सूर्योदय अवलोकनका लागि घोडेपानी पुनहिल क्षेत्र लोकप्रिय गन्तव्य हो। ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिलबाट अन्नपूर्ण पदमार्गको उत्कृष्ट दृश्यावलोकन गर्न सकिन्छ।
पछिल्ला दिनहरूमा अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका पर्यटकलाई रु १ हजार र अन्य मुलुकका पर्यटकलाई रु ३ हजार शुल्क लिइन्छ।
धेरैजसो पर्यटकले घोडेपानी भ्रमणपछि धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, रुप्से झरना, गलेश्वरलगायत म्याग्दीका धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलहरूको भ्रमण गर्ने गरेका छन्।



