कात्तिक १८, काठमाडौँ : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताउनुभएको छ। आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताउनुभयो।
रक्षामन्त्री समेत रहुनभएका खड्काले घाइतेहरुको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिनुभयो। “हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पुर्याउनु हो”, उहाँले भन्नुभयो, “त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ।”
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भूकम्प प्रभावित जाजरकोट पुग्नुभएको र आवश्यक उद्धार र राहतको काम भइरहेको बताउनुभयो। उहाँले उद्धार र राहतमा खट्नका लागि सबैलाई आग्रह गर्नुभएको छ।



