काठमाडौं: फ्रान्सेली सरकारले नेपालमा जलवायु परिवर्तनको जोखिम व्यवस्थापन र सामाजिक सुरक्षासम्बन्धी परियोजनाका लागि रु. २ करोड अनुदान सहयोग प्रदान गर्ने भएको छ। युरोपेली तथा विदेशी मामिलासम्बन्धी फ्रान्सेली मन्त्रालयले संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (WFP) मार्फत १ लाख ६१ हजार अमेरिकी डलर (करीब २ करोड १६ लाख नेपाली रुपैयाँ) अनुदान दिने घोषणा गरेको हो।
यो सहयोग "लिंकिङ क्लाइमेट रिस्क फाइनान्सिङ एन्ड इन्स्योरेन्स विथ सक रेस्पोन्सिभ सोसल प्रोटेक्सन" नामक परियोजनाका लागि हुनेछ। जसले जलवायु परिवर्तनका कारण उत्पन्न हुने बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिबाट प्रभावित समुदायहरूलाई जोखिमबाट जोगाउन सहायता प्रदान गर्नेछ। यस परियोजनाले नेपाल सरकारको विपद् उद्धार कार्यलाई थप सुदृढ बनाउँदै विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा सक्रिय भूमिका खेल्नेछ।
फ्रान्सेली दूतावासका अनुसार, यो परियोजना नेपालका उच्च जोखिमयुक्त क्षेत्रहरूमा लागू गरिनेछ, जहाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अन्य सम्बद्ध संस्थाहरूको समन्वयमा कार्यान्वयन गरिनेछ। परियोजनाले विपद् पूर्व र पश्चातको अवस्थामा तत्कालीन राहत, पुनःस्थापना र वित्तीय सहयोगको सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको छ।
यस पहलले सामाजिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउँदै भविष्यमा प्राकृतिक विपत्तिका कारण हुने आर्थिक र मानवीय क्षतिलाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।



