काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारका लागि बिक्री गरिने स्मारिका सिक्का र मेडालियनको नयाँ मूल्य निर्धारण गरेको छ। मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले तिहार विशेष स्मारिका बिक्रीका लागि नयाँ मूल्य सूची प्रकाशित गरेको हो।
तिहारका लागि निर्धारण गरिएका नयाँ मूल्यहरू:
- १० ग्राम लक्ष्मी, गणेश र गज लक्ष्मी मेडालियन: मूल्य प्रति थान २ हजार २ सय रूपैयाँ
- १५ ग्राम टक्कसार यान्त्रिकरण मेडालियन: मूल्य ४ हजार ४ सय रूपैयाँ
- ३१.१०३ ग्राम राज्यरोहण १ ओजेड सिक्का: मूल्य ८ हजार ५ सय ७५ रूपैयाँ
- २५ ग्राम गाई अंकित मेडालियन: मूल्य ५ हजार ५ सय रूपैयाँ
- १० ग्राम गाई अंकित मेडालियन: मूल्य २ हजार २ सय रूपैयाँ
महाशाखाले २.५ ग्रामका सुनको असर्फी तिहारको अवसरमा प्रतिव्यक्ति एक थानका दरले पहिलो आउनेलाई पहिलो सेवा (फर्स्ट कम, फर्स्ट सर्भड) को आधारमा कात्तिक १३ गते एक दिनका लागि मात्र बिक्री खुला गर्नेछ। ग्राहकले बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा दिउँसो ४ बजेसम्म महाशाखाबाट खरिद गर्न सक्नेछन्।
त्यस्तै चाँदीका स्मारिका र मेडालियनहरू कात्तिक ११ देखि १४ गतेसम्म बिक्री खुला गरिनेछ। ग्राहकले प्रतिव्यक्ति बढीमा ५ थानसम्म (२५ ग्राम गाई अंकित, १० ग्राम गाई अंकित, १० ग्राम लक्ष्मी अंकित, १० ग्राम गणेश अंकित र १० ग्राम गजलक्ष्मी अंकित) खरिद गर्न सक्नेछन्। बिक्री समय बिहान ११ देखि दिउँसो ४ बजेसम्म कायम गरिनेछ।
सुनका असर्फी र चाँदीका सिक्का खरिदका लागि आवश्यक कागजातहरू: खरिद गर्दा ग्राहकले अनिवार्य रूपमा नागरिकता वा सो खुल्ने प्रमाणको नक्कल र प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ। नगद वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि उपलब्ध गराइएको छ। सुनको असर्फीको मूल्य प्रतिदिन निर्धारण हुने भएकाले त्यही दिनको दरमा बिक्री गरिनेछ।
नेपाल राष्ट्र बैंकले तिहार विशेषको रुपमा यी वस्तुहरू बिक्रीमा राखेकोले इच्छुक ग्राहकहरूलाई यस सुविधाबाट लाभ लिन आह्वान गरेको छ।




