काठमाडौँ : धादिङको नौकिलोमा काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
धादिङको थाक्रे गाउँपालिका-६ अन्तर्गत पर्ने पृथ्वी राजमार्गको नौकिलो नजिकै शुक्रबार भएको यो दुर्घटनामा बा.प्र. ०१-०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान सडकबाट करिब २५ मिटर तल खोलामा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार घाइते हुनेमा रामेछाप घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका-१ बस्दै आएका ७० वर्षीया केदारकुमारी श्रेष्ठ, ४२ वर्षीया राधिका कटुवाल, ४२ वर्षकै कुमार कटुवाल, १२ वर्षीय विवस कटुवाल, १५ वर्षीय सुरज श्रेष्ठ, १६ वर्षीय विनिता कटुवाल, ३९ वर्षीया संगीता श्रेष्ठ, ४० वर्षीय नारायण बहादुर श्रेष्ठ, १० वर्षीय सुदीप श्रेष्ठ, ४५ वर्षीय नारायणदास श्रेष्ठ र ३० वर्षीय गंगा बहादुर बस्नेत रहेका छन्।
घाइतेहरूमध्ये केहीको अवस्था सामान्य र केहीको अवस्था मध्यम रहेको छ। सबैलाई उपचारका लागि महादेववेशीस्थित टाइमकेयर अस्पतालमा पठाइएको छ।



