काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८ औं वार्षिक साधारणसभा (एजीएम) कात्तिक १२ गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभवनमा बिहान ९ बजे आयोजना गर्दैछ। बैंकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव राखेको छ।
यसमा ४ प्रतिशत अर्थात् ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत अर्थात् २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद लाभांश प्रस्तावित छ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिने सम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। साथै, बैंकको प्रबन्धपत्र संशोधन, जारी पुँजी र चुक्तापुँजी वृद्धि, शेयर किसिम परिवर्तन र नियमावली संशोधनसँगै अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। सभाले लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि बैंकले असोज २९ गतेदेखि बुक क्लोज गरिसकेको छ। त्यसैले असोज २८ गतेसम्म कायम शेयरधनीहरुमात्रै लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।



