काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म नियुक्त भएका मार्केटिङ म्यानेजरहरुको लागि पोखराको ग्राण्ड होटेलमा कात्तिक ९ र १० गते दुई-दिने विशेष कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, ट्रेनर तथा लाइफ कोच रविन कटुवाल सहित विभिन्न प्रदेश र शाखाका प्रमुखहरु तथा कर्मचारीहरुको सहभागिता थियो। यो कार्यक्रममा देशभरबाट ५०० भन्दा बढी सहभागिता रहेको थियो।
कम्पनीका ब्राण्ड एम्बेसेडर कुञ्जना घिमिरे (सुन्तली) ले अभिकर्ताहरु मार्फत समाजमा सेवा पुर्याउँदै आर्थिक लाभसमेत गर्न सकिने विषयमा चर्चा गरिन्। साथै, उनले महिलाहरुले गृहिणीको भूमिका मात्रै निर्वाह नगरी अभिकर्ता मार्फत आर्थिक तथा सामाजिक रुपान्तरणतर्फ अग्रसर हुन आग्रह गरिन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले डिजिटल युगमा डिजिटल साक्षरताको महत्वबारे चर्चा गर्दै यस प्रतिस्पर्धात्मक युगमा डिजिटल माध्यमले अभिकर्ताहरुलाई कसरी सफल बनाउन सक्छ भन्नेबारे मार्गदर्शन दिए।
उनले ग्राहकको सुरक्षालाई प्रत्याभूति दिलाउन कम्पनीले नवीनतम योजनाहरुको विकासमा काम गरिरहेको जानकारीसमेत दिए।



