काठमाडौँ : अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले पहिलो त्रैमासमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा ४० लाख ४९ हजार रुपैयाँ घाटामा रहेको थियो।
समीक्षा अवधिसम्म अपि पावरले विद्युत् बिक्रीबाट ४७ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ८१.८५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यो आम्दानी २६ करोड १६ लाख रुपैयाँ थियो। साथै, कम्पनीले अन्य स्रोतहरूबाट २७ लाख ७५ हजार रुपैयाँको आम्दानी गरेको छ।
प्रशासनिक खर्च पहिलो त्रैमासमा १ करोड ८४ लाख रुपैयाँ रहेको छ, भने बिक्री तथा वितरण खर्च ४ करोड २६ लाख, ह्रासकट्टी खर्च १० करोड ५६ लाख र वित्त खर्च १८ करोड ६८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल चुक्तापूँजी ५ अर्ब ७८ करोड रुपैयाँ छ भने कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड र चालु दायित्व १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।
असोज मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १२.५६ रुपैयाँ छ, भने प्रतिसेयर नेटवर्थ १ सय १२.६५ रुपैयाँ पुगेको छ। मूल्य-आम्दानी अनुपात (P/E ratio) २४.८३ गुणा र तरलता अनुपात १.२ प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ।



