काठमाडौँ : जनकपुरधामका प्राध्यापक उज्ज्वल दाहालका अनुसार, दसैँ, तिहार र छठ पर्वका समयमा वर्षभरको घरायसी खर्चको एकतिहाइ हिस्सा खर्च हुने गरेको छ। उद्योगी-व्यवसायीले छुट योजना र आकर्षक अफरहरू प्रस्तुत गर्दै वस्तु तथा सेवाको व्यापारमा उपभोक्तालाई लोभ्याउने हुँदा यो समयमा खर्चको प्रवृत्ति अन्य समयको तुलनामा धेरै उच्च हुन्छ।
साउने सङ्क्रान्तिपछि क्रमशः चाडपर्वको चहलपहल बढ्न थालेपछि मधेश प्रदेशको जनकपुरधाम र अन्य मुख्य सहरका पार्टी प्यालेसहरूले पनि यो अवधिमा राम्रै आम्दानी गर्दै आएका छन्।
यतिबेला किराना सामानदेखि लत्ताकपडा, गरगहना, विद्युतीय सामानहरू र सार्वजनिक यातायातदेखि होटल र रेस्टुरेन्टसम्म सबै क्षेत्रमा किनमेलमा वृद्धि देखिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार दसैँ–तिहारको व्यापारले वर्षभरको व्यापारिक चक्रलाई ठूलो सहयोग पुर्याउँछ। विशेषगरी फर्निचर, इलेक्ट्रोनिक्स र ग्याजेटहरूमा पनि छुट योजना लक्षित उपभोक्ताहरूले यही समयमा खरिद गर्न चाहने गरेका छन्।
इन्टरनेट सेवाप्रदायकदेखि ट्राभल एजेन्सीहरू र अनलाइन सपिङ प्लेटफर्महरूले पनि ग्राहकहरूलाई आकर्षित गर्न विभिन्न छुट र उपहार योजना ल्याएका छन्, जसले गर्दा बजारमा किनमेलको चाप बढ्दै गएको छ। अर्थशास्त्रका प्राध्यापक प्रभात घिमिरेले यो अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशतसम्म उपभोग हुने जानकारी दिए।
दशैं, तिहार र छठ पर्वमा देश बाहिर रहेका नेपालीहरू पनि आफ्ना परिवारसँग समय बिताउन फर्कने र विप्रेषण पठाउने गर्छन्, जसले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दछ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, दसैँको समयतिर अन्य महिनाहरूको तुलनामा २५-३० प्रतिशतले बढी विप्रेषण आउने गरेको देखिन्छ, जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।
नेपाल चेम्बर अफ कमर्स मधेश प्रदेशका अध्यक्ष पवन ठाकुरका अनुसार चाडपर्वले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सघाएको छ। यो समयमा सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा मानिसहरूको आवागमन हुने हुँदा आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ।
जनकपुरधामलगायत विभिन्न ठाउँमा सञ्चालन हुने सस्तो बजारले स्थानीय तथा राष्ट्रिय उत्पादनहरूलाई प्रोत्साहन गर्दै समग्र आर्थिक गतिविधिमा योगदान पुर्याउँछ।
चाडपर्वको प्रभावले मुलुकको आर्थिक गतिशीलता कायम राख्न ठूलो भूमिका खेलेको देखिन्छ।



