काठमाडौं : समृद्धि फाइनान्सले आफ्नो २३ औँ वार्षिक साधारणसभा मंसिर ६ गते आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडास्थित होटल एभोकाडा ‘अर्किड रिसोर्ट’मा बिहान १० बजे सुरु हुनेछ।
यस साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिको प्रक्रिया अगाडि बढाउने प्रस्ताव अनुमोदन गर्नेछ। यसका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार दिने विशेष प्रस्ताव पारित गरिनेछ।
त्यसैगरी, सभामा संस्थाको नियमावली र प्रबन्धपत्र संशोधनको प्रस्ताव पनि प्रस्तुत गरिनेछ। यस अवसरमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गरिनुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव अनुमोदन गरिनेछ।
यो वर्ष कम्पनीले शेयरधनीहरूका लागि कुनै लाभांश प्रस्ताव गरेको छैन, जसका कारण शेयरधनीहरूले कुनै पनि प्रकारको लाभांश प्राप्त गर्ने छैनन्। साधारणसभामा भाग लिन कात्तिक २५ गते बुक क्लोज गरिनेछ, जसअनुसार सो मितिसम्म कायम रहेका शेयरधनीहरूले मात्र यस सभामा सहभागी हुन पाउनेछन्।



