काठमाडौं : तिहारको लक्ष्मीपूजाको अवसरमा रिलिज भएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमै झण्डै पाँच करोड रुपैयाँको कमाई गरेको छ। वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार फिल्मले सोमबारसम्म ४ करोड ८७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
सोमबारसम्मको ग्रस कलेक्सनअनुसार, निर्माताले पाँच दिनमै २ करोड नेट आम्दानी गरेका छन्, जसबाट लगानी उठाएर नाफा समेत कमाएका छन्। यो फिल्म १ करोड ३० लाख रुपैयाँमा निर्माण गरिएको थियो।
रिलिजको सुरुवातमा दर्शक अकुपेन्सी कम भए पनि शनिबारदेखि फिल्मले उल्लेखनीय व्यापार गरेको छ, जसले गर्दा हलहरुले शो थपिरहेका छन्। मंगलबार पनि फिल्मले २ सय भन्दा धेरै शो प्राप्त गरेको छ। वितरकको अनुमान अनुसार मंगलबार पनि आक्रामक कमाई हुनेछ।
नेपालसँगै विदेशका हलहरूमा पनि फिल्म प्रदर्शन भइरहेको छ। मंगलबारदेखि जापानको टोकियोको नाकानो जिरो हलमा समेत यो फिल्म देखाइएको छ, जहाँ पहिलो शो नै हाउसफूल भएको थियो।
सरोज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा विजय बराल र प्रकाश सपूत मुख्य भूमिकामा छन्, जबकि मुकुन भुसाल, अञ्जना बराइली र अन्य कलाकारहरूको पनि अभिनय देख्न पाइन्छ। गन्धर्व समुदायको कथा बोकेको ‘पूर्ण बहादुरको सारङ्गी’ बाबुछोराको सम्बन्ध र छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा हो।
फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्।



