काठमाडौं : रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्काशन र बिक्री प्रक्रिया स्थगित गरेको आज ६ महिना पुग्न लागेको छ। कम्पनीको यो प्रक्रिया अर्को सूचना नआउँदासम्मका लागि रोकिएको छ। पहिलो चरणमा खुला गरिएको आईपीओमा १८ कम्पनीको अर्बौं रुपैयाँ अड्किएको छ।
बुक बिल्डिङ्गमार्फत आईपीओ निष्काशन सुरु गरेको रिलायन्सले दोस्रो चरणमा असार २९ गते वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गर्ने तयारी गरेको थियो। तर सार्वजनिक लेखा समितिले सेबोनलाई बिक्री प्रक्रिया स्थगित गर्न निर्देशन दिएपछि प्रक्रिया अनिश्चितकालका लागि रोकियो।
रिलायन्सले माघ १० देखि १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर बिक्री गरेको थियो, जसको मूल्य न्यूनतम ६ सय ८ देखि अधिकतम ९ सय १२ रुपैयाँ तोकिएको थियो। उच्च मूल्यमा आवेदन दिने १८ कम्पनीहरूको ७० करोड २८ लाख रुपैयाँ लामो समयदेखि अड्किएको हो।
सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीका अनुसार नियामकले स्पष्ट निर्णय नगर्दा लगानीकर्ताको रकम बन्धकजस्तै बनेको छ। उनले प्रक्रिया छिटो टुंग्याउन माग गरेका छन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका छविलाल शर्मा पौडेलका अनुसार रकम रिलायन्सको खातामा जम्मा भइसकेको छ तर, सेबोनले स्वीकृति नदिएपछि अड्किएको हो।
अध्यक्ष महेश बरालले अदालतको आदेशपछि निर्णयमा समय लाग्ने बताएका छन्।



