काठमाडौँ : महोत्तरीको बलवा नगरपालिका–१० धमौराका मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आफ्नो बुबा, स्वर्गीय तेजनारायण सिंहको प्रेरणाबाट प्रेरित भएर सामाजिक कार्यमा संलग्न रहँदै आएको बताए।
शनिबार आफ्ना बुबाको दोस्रो वार्षिक पुण्यतिथिमा आयोजित पाँच दिने निःशुल्क मुटु शिविरमा सम्बोधन गर्दै उनले गाउँको माटो र समाजप्रतिको उत्तरदायित्वको महत्त्व सम्झाए।
जन्मभूमि र परिवारप्रतिको उत्तरदायित्व
डा. अनिलले बुबाबाट सिकेका मूल्यहरूमा गाउँको सेवा, आफ्नो पहिचानको जरा र समाजप्रतिको दायित्व रहेको बताए। उनले भने "हामी जुनसुकै ठाउँमा पुगे पनि, जस्तोसुकै व्यवसायमा लागे पनि, जन्मभूमि र पृष्ठभूमिलाई कहिल्यै भुल्न नहुने शिक्षा बुबाले दिनुभएको छ।" बुबाको सम्झनालाई चीरस्थायी बनाउन र आफ्नो गाउँको सेवा गर्न पाउँदा आफू प्रफुल्लित भएको उनले सुनाए।
गाउँको विकास र बुबाको योगदानको स्मरण
कार्यक्रमका क्रममा स्वर्गीय तेजनारायण सिंहका सहयात्रीहरूले शिक्षा, कृषि र गाउँको समृद्धिका लागि उनको योगदानको स्मरण गरे। सिंहले वि.सं. २०२७ मा आफ्नै जग्गामा विद्यालय स्थापना गरी त्यसलाई दुई दशकभन्दा बढी समयसम्म कुशलतापूर्वक व्यवस्थापन गरेका थिए।
कृषि अधिकारी कामेश्वर झाले स्वर्गीय सिंहले गाउँको आयआर्जन बढाउन नगदेबालीको खेती र कृषिको यान्त्रिकीकरणलाई प्राथमिकता दिएको सम्झाए। शिक्षा सेवामा समेत सिंहको सक्रिय भूमिका रहेको उल्लेख गर्दै सहकर्मीहरूले उनको योगदानलाई आदर्शको रूपमा लिएका छन्।
डा. ओम फाउन्डेसनद्वारा सामाजिक कार्य
डा. ओम मूर्ति अनिलको नेतृत्वमा स्थापित डा. ओम फाउन्डेसनले धमौरामा पाँच दिने निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गर्यो, जसमा ६ सयभन्दा बढीको मुटु जाँच तथा अन्य स्वास्थ्य परीक्षण गरिएको थियो। यसैक्रममा स्वर्गीय सिंहले स्थापना गरेको श्री जनता राष्ट्रिय माविलाई आर्थिक सहयोग हस्तान्तरण गरी विद्यालयको प्रगतिको प्रतिबद्धता दोहोर्याइएको थियो।
डा. अनिलको पुस्तक "जीवन्त सम्बन्ध" बाट प्राप्त आम्दानी फाउन्डेसनमार्फत स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च हुँदै आएको छ।
डा. अनिलले बुबाले सानैदेखि सिकाएका मूल्य र आदर्शहरू आफ्नो जीवनको मार्गदर्शक भएको र समाजप्रतिको योगदानलाई अझै पनि निरन्तरता दिने दृढता व्यक्त गरेका छन्।



