काठमाडौं : मानिसको जीवनमा आउने अनिश्चित जोखिमलाई आर्थिक सुरक्षा प्रदान गर्ने उपाय जीवन बीमा हो। जीवन बीमाले व्यक्तिको मृत्यु वा अन्य गम्भीर अवस्थाहरूमा परिवारलाई आर्थिक क्षतिपूर्ति दिन्छ। साथै, जीवन बीमाको अवधि समाप्त भएपछि बीमितले वा मृत्यु भएमा हकवालाले बोनससहित एकमुष्ठ रकम प्राप्त गर्न सक्छन्।
जीवन बीमा किन आवश्यक छ?
जीवन बीमाका आवश्यकहरू यस प्रकार छन्:
- परिवारका कमाउने व्यक्तिको मृत्यु हुँदा हुने आर्थिक क्षति कम गर्न।
- बालबच्चाको भविष्यको शिक्षा तथा अन्य खर्च व्यवस्थापन गर्न।
- वृद्धावस्थाका लागि आर्थिक सुरक्षा प्रदान गरी परनिर्भरतामा कमी ल्याउन।
- रोग, दुर्घटना वा अन्य जोखिमबाट आर्थिक सुरक्षा पाउन।
- कर छुटको सुविधा लिन।
कसरी गर्न सकिन्छ जीवन बीमा?
नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त जीवन बीमा कम्पनीका अभिकर्ता वा आफैँ सोझै कम्पनीमा गई जीवन बीमा गर्न सकिन्छ। बीमा गराउँदा निम्न कुराहरूमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ।
बीमा गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू
- आफूलाई आवश्यक पर्ने बीमा प्रकार र बीमांक रकमको उचित निर्धारण गर्नुहोस्।
- बीमालेखका सम्पूर्ण सर्तहरू तथा सुविधाहरूको जानकारी लिने।
- आफ्नो पेसा, व्यवसाय र आर्थिक अवस्थाअनुसार बीमा छनोट गर्नुहोस्।
- लिएको बीमाबारे आफ्नो परिवारलाई जानकारी गराउनुहोस्।
- बीमालेख सुरक्षित स्थानमा राख्नुहोस्।
जीवन बीमाका प्रकार
जीवन बीमाका प्रमुख ३ प्रकार छन्:
- आजीवन जीवन बीमा: बीमितको जीवनभर बीमाशुल्क तिर्नुपर्छ र मृत्युपछि हकवालालाई एकमुष्ठ रकम प्रदान गरिन्छ।
- सावधिक जीवन बीमा: निश्चित अवधिसम्म गरिने बीमा, जहाँ बीमा अवधि समाप्त भएपछि बीमितले वा मृत्यु भएमा हकवालाले रकम र बोनस पाउन सक्छन्।
- म्यादी जीवन बीमा: बीमा अवधिभित्र बीमितको मृत्यु भएमा मात्र हकवालाले रकम पाउँछन्।



