काठमाडौं : गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण उद्यमीहरूको छाता संगठन, फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सहकार्यको सम्झौता भएको छ। यस सम्झौतामा गरिमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र फेडेरसनका अध्यक्ष रेशम प्रसाद देवकोटाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार गरिमा विकास बैंकले फेडेरसनका सदस्य विद्युतीय उद्यमीहरूलाई बैंकसँग कारोवार गर्न सहजीकरण गर्नेछ। सदस्य उद्यमीहरूले बैंकले प्रस्तुत गरेका विभिन्न योजना अन्तर्गत आकर्षक व्याज दरमा विभिन्न प्रकारका ऋण र सुविधा लिन सक्नेछन्।
विशेष गरी व्यवसायिक अधिविकर्ष कर्जा ८.४८ प्रतिशतमा र साना तथा मझौला व्यवसाय कर्जा ०.७५ प्रतिशत प्रिमियम दरमा उपलब्ध हुने बताइएको छ। यसका साथै, सदस्य उद्यमीहरूलाई घर, सवारी, शेयर, सुनचाँदी धितो कर्जा र क्रेडिट कार्ड जस्ता सेवा पनि सरल प्रक्रियामा उपलब्ध गराइनेछ।
सेवाको थप सहजताका लागि बैंकले छुट्टै कर्जा डेस्क पनि स्थापना गर्ने योजना बनाएको छ। काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकामा २२ शाखासहित देशभर १ सय २३ शाखा, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएममार्फत सेवा प्रदान गरिरहेको छ।
यो सहकार्यले विद्युतीय व्यवसायको विस्तारमा टेवा पुग्ने विश्वास लिइएको छ, जसले आर्थिक क्षेत्रको विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।



