२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विद्युत् र खानेपानीको अभावले पुनहिलमा पर्यटक मर्कामा

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 1.5K
    SHARES
  • विद्युत् र खानेपानीको अभावले पुनहिलमा पर्यटक मर्कामा

    काठमाडौँ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल पर्यटकीयस्थलमा विद्युतीय आपूर्ति र खानेपानीको समस्या अझै पनि चुनौती बनेको छ। समुन्द्र सतहदेखि ३,२१० मिटर उचाइमा रहेको पुनहिलमा पर्यटकहरू हिमाल, सूर्योदय, जंगल र पहाडी भूभागको मनोरम दृश्य अवलोकन गर्न आउँछन्, तर विद्युत् र पानीको अभावले गर्दा पर्यटकहरूलाई असुविधा हुँदै आएको छ।

    घोडेपानीदेखि बिहानै उकालो चढेर पुनहिल पुग्न पदमार्गमा उज्यालोका लागि सडक बत्ती, मोबाइल र क्यामेरा चार्ज गर्न विद्युत् र शौचालयमा प्रयोग हुने पानीको अभावमा समस्या भइरहेको छ। काठमाडौँबाट आएका पर्यटक श्याम रञ्जितकारले अध्यारोमा उकालो चढ्दा बत्तीको अभाव महसुस गरेको बताए।

    उनी भन्छन्, “मोबाइल र क्यामेरामा ब्याट्री सकिँदा पुनहिलमै चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो। पानीको अभावमा शौचालयको प्रयोग गर्न गाह्रो भयो। आफैँ बोकेर ल्याएको पानी महँगो पर्छ।”

    पर्यटन प्रवर्धन र सेवा सुधारका लागि नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले २०८० पुस महिनामा घोडेपानीदेखि पुनहिलसम्म एक किलोमिटर एबिसी तार तान्दै १५ वटा पोल राखे पनि स्थानीय र गाउँपालिकाको पहलको कमीले मिटरबक्स जडान गर्न ढिलाइ भएको छ।

    केन्द्रका प्रमुख सत्यनारायण गामीले पुनहिलमा करिब २५ लाख रुपैयाँ खर्चेर लाइन पुर्‍याइएको भए पनि मिटरबक्स नहुँदा सेवा सञ्चालनमा आउन नसकेको बताए।

    खानेपानीको समस्या पनि गम्भीर छ। स्थानीयले घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पुनहिलमा पानी पुर्‍याउने गरेका छन्। उकालोमा एक घण्टा लगाएर पानी ल्याउनुपर्ने भएकाले तातोपानी, चिया, कफीको मूल्य पनि उच्च पर्न गएको छ।

    पुनहिलमा वार्षिक ३०,००० भन्दा बढी विदेशी र आन्तरिक पर्यटक पुग्ने गरेका छन्, जसले यस क्षेत्रमा पानी र बत्तीको आवश्यकता बढाएको छ।

    अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएका कारण मिटरबक्स जडानमा प्राविधिक समस्या आएको हो। गाउँपालिकाले मिटरबक्स खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ, जसले पुनहिल र तातोपानी कुण्डलगायत पर्यटकीयस्थलमा विद्युत् आपूर्ति सहज बनाउन सघाउ पुर्‍याउने आशा छ।

    अन्नपूर्ण गाउँपालिकाले पुनहिल भ्रमणका लागि नेपाली पर्यटकहरूलाई प्रतिव्यक्ति रु ५० र विदेशी पर्यटकहरूलाई रु १५० प्रवेश शुल्क लिँदै आएको छ। यो वर्ष प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि गाउँपालिकाले ४० लाख एक सय रुपैयाँमा ठेक्का लगाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ