काठमाडौँ : नेपालमा बाहिरबाट महको आयात रोकिएपछि चितवनका किसानहरूले उत्पादन गरेको महले राम्रो बजार पाउन थालेको छ। यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले प्रतिस्पर्धा गर्न नसक्दा बिक्री हुन नसकेको र थन्किनुपर्ने अवस्था आएको थियो।
नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्मा पौडेलका अनुसार अहिले देशभर १ हजार २ सय मेट्रिकटन मह अझै बिक्री हुन बाँकी छ, जसमा ३ सय मेट्रिकटन चितवनमै छ। यसअघि आयात खुला हुँदा भण्डारणमा ३ हजार १ सय ४५ मेट्रिकटन मह थन्किएको थियो। आयात रोकिएपछि उत्पादन भएको मह बिक्री हुन थालेको उनले बताए।
पूर्वअध्यक्ष शर्माले भने “अहिले पुरानो मह पनि भण्डारणबाट बिक्री भइरहेको छ। आयात नखोल्ने हो भने बाँकी मह पनि छिट्टै सकिनेछ।” साथै यदि आयात पुनः खुला गर्ने हो भने भन्सार दर ६० प्रतिशतले वृद्धि गर्नुपर्ने उनको सुझाव छ।
नेपालमा हाल १ लाख ६० हजार घार मेलीफेरा र १ लाख ७० हजार घार सेरेना मौरी रहेका छन्, जसबाट वार्षिक रूपमा ४ हजार ९ सय मेट्रिकटन मह उत्पादन हुने गरेको शर्माले जानकारी दिए। यस वर्षको नयाँ उत्पादन लिन थालिएको उनले बताए।
महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार सरकारले गत वैशाखदेखि मह आयातमा रोक लगाएको छ। उनले भने “अहिले विदेशी ठूला कम्पनीहरूले पनि नेपाली मह खरिद गरी बिक्री वितरण गरिरहेका छन्। यो नेपाली महको गुणस्तरको प्रमाण हो।”
महको खपत वार्षिक ९ हजार २ सय मेट्रिकटन रहेको भए पनि किसानको मह बिक्री हुन नसक्नु विडम्बनापूर्ण रहेको घिमिरेले बताए। भारतबाट आउने सस्तो महसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँको उत्पादन थन्किनुपर्ने अवस्था आएको थियो। आयात रोकिँदा नेपाली महका लागि बजारको समस्या समाधान हुँदै गएको उनले बताए।
सरकारले आयातमा रोक लगाउँदै घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न थालेकोले किसानहरू उत्साहित भएका छन्। यस्तै नीति कायम रहे, नेपाली महले आन्तरिक बजारमा बलियो स्थान बनाउन सक्नेछ।



