२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्वास्थ्य मन्त्रालयको प्रतिबद्धता: आयुर्वेदिक औषधि उत्पादनमा सुधारका लागि सहयोग

images

  • २०८१ मंसिर ४, मंगलबार
  • 2.1K
    SHARES
  • स्वास्थ्य मन्त्रालयको प्रतिबद्धता: आयुर्वेदिक औषधि उत्पादनमा सुधारका लागि सहयोग

    काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिलाई उत्पादन वृद्धि गर्न आग्रह गर्दै बजार व्यवस्थापनको जिम्मा मन्त्रालयले लिने प्रतिवद्धता जनाएका छन्।

    राष्ट्रिय आरोग्य दिवस, धन्वन्तरि जयन्ती र समितिको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले आयुर्वेदिक औषधिको उत्पादनमा आत्मनिर्भरता बढाउनुका साथै निर्यातको सम्भावना खोज्न सुझाव दिए।

    मन्त्री पौडेलले देशभरका स्थानीय तहहरूमा स्वदेशी औषधिको प्रभावकारी बिक्री वितरणमार्फत विदेशी उत्पादनको विकल्प निर्माण गर्नुपर्नेमा जोड दिए।

    “वैद्यखानाले मात्र आत्मनिर्भरता हासिल गर्नु होइन, निर्यातयोग्य उत्पादनको मापनमा ध्यान दिनुपर्छ। उत्पादन बढेमा आयात प्रतिस्थापन गर्ने काम सरकारमार्फत हुनेछ।” उनले भने।

    उनले वैद्यखानाको आर्थिक स्थायित्व सुनिश्चित गर्न आवश्यक उत्पादन वृद्धि र कर्मचारी व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। “सधैँ घाटामा सञ्चालन भइरहने संस्थालाई निरन्तरता दिन सरकारलाई पनि सहज हुँदैन। त्यसैले सबैको साथ र सक्रियताबाट समस्या समाधान गर्नुपर्छ। ” मन्त्री पौडेलले भने।

    कार्यक्रममा अर्थ समितिका सभापति सन्तोष चालिसेले वैद्यखानाको बजेट व्यवस्थापनका लागि सरकारलाई आवश्यक पहल गर्ने आश्वासन दिए। पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले उत्पादन वृद्धि र निर्यातलाई प्रोत्साहन गर्न सरकारको वातावरण मिलाउने कदमको स्वागत गरे।

    वैद्यखानाका ऐतिहासिक महत्वलाई पुनः उजागर गर्दै मन्त्री पौडेलले यसको मौलिकता र सांस्कृतिक योगदानलाई बचाउन उत्पादनमा नयाँ दृष्टिकोण अपनाउनुपर्ने बताए। “यो हाम्रो परम्परा, संस्कृति र पहिचानसँग जोडिएको संस्था हो। यसको क्षमतामा गिरावट आउँदा हाम्रो मौलिकता पनि संकटमा पर्छ।” उनले भने।

    कार्यक्रमका क्रममा ऐतिहासिक पुस्तक चन्द्र निघण्टु को १०औँ भाग विमोचन गरियो। वैद्यखानाको ऐतिहासिक पृष्ठभूमि र योगदानको चर्चा गर्दै यसलाई थप सशक्त बनाउने प्रतिवद्धता विभिन्न वक्ताहरूले व्यक्त गरे।

    राजा प्रताप मल्लको पालामा स्थापना भएको यो संस्था अहिलेको आधुनिक स्वास्थ्य प्रणालीसँग पनि समायोजन गर्न सक्षम हुने गरी अघि बढ्नुपर्ने सुझाव दिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ