२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

झापाको दोमुखा: रङ्गीविरङ्गी छाताले बेहुलीझैँ सिँगारिएको पर्यटकीय गन्तव्य

images

  • २०८१ मंसिर ५, बुधबार
  • 1.9K
    SHARES
  • झापाको दोमुखा: रङ्गीविरङ्गी छाताले बेहुलीझैँ सिँगारिएको पर्यटकीय गन्तव्य

    काठमाडौँ : कनकाई नदी किनारमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल दोमुखा यतिबेला बेहुलीझैँ सिँगारिएको छ। यो क्षेत्र झापाको पहाडको फेदमा अवस्थित एक आकर्षक पर्यटकीय गन्तव्य हो।

    आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न ४५ हजार रूपैयाँ लागतमा तीन सय वटा विभिन्न रङका छाताले स्थलको सौन्दर्य थपिएको छ।

    शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्गको माईधार बजारबाट उत्तर तीन किलोमिटरको दुरीमा अवस्थित छ। पर्यटकीय गन्तव्यका रूपमा चर्चित यस स्थानमा नवदम्पती फोटो खिच्न, म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरूको संख्या बढिरहेको छ।

    दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीका अनुसार पर्यटकको रुचि अनुसार नयाँ संरचना निर्माण गर्दै पर्यटन प्रवर्द्धन गर्न समिति सक्रिय छ।

    दोमुखाका मुख्य आकर्षणमा बुद्धपार्क, व्यवस्थित वनभोज स्थल, बाल उद्यान र बहुसांस्कृतिक सङ्ग्रहालय पर्दछन्। यहाँका मुख्य सडकको प्रवेशद्वार माईधारमा आकर्षक ढोका बनाइएको छ भने पर्यटकलाई सहजताका लागि ३० भन्दा बढी सानाठूला होटल सञ्चालनमा छन्।

    शिवसताक्षी नगरपालिकाले क्षेत्रका सडक दुवैतिर बत्ती जडान गरी झिलीमिली बनाएको छ भने साँझमा पर्यटकको चहलपहल बढाउन विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने योजना पनि अघि सारेको छ।

    कनकाई नदीबाट बाँध बनेको, चुरे क्षेत्रसँग जोडिएको मनोरम स्थल दोमुखामा विशेष गरी मङ्सिरदेखि चैतसम्म पूर्वी नेपाल र भारतका पश्चिम बङ्गाल, सिक्किम र विहारबाट पर्यटक आउने गर्दछन्।

    वार्षिक एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने यस स्थानलाई थप व्यवस्थित बनाउन २०६२ सालमा दोमुखा धार्मिक तथा पर्यटकीय विकास समिति गठन भएको थियो।

    यस क्षेत्रको नामकरण कनकाई नदीको बहावलाई दुई भागमा विभाजन गरेर बनेको दोमुखाको प्राकृतिक स्वरूपबाट भएको हो। हाल नगर, प्रदेश र सङ्घीय सरकारको सहयोगमा यहाँ विभिन्न भौतिक संरचना निर्माण गरी यो क्षेत्रलाई अझ आकर्षक बनाइँदैछ।

    धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण दोमुखालाई अझ प्रोत्साहन गर्न विभिन्न सृजनात्मक पहल गर्ने योजनाले यस क्षेत्रलाई स्थानीय तथा राष्ट्रिय स्तरमा चर्चित बनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ