काठमाडौँ : ताप्लेजुङको पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो हिमपात भएको छ। केही दिनदेखि बढिरहेको चिसोका बीच, आज बिहानदेखि हल्का हिमपात सुरु भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ।
हिमपातसँगै मौसम थप चिसो भएको छ। यद्यपि यसले पर्यटक र तीर्थयात्रीसँगै आगन्तुकको सङ्ख्या बढाउने अपेक्षा गरिएको छ, समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।
पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय दृष्टिकोणबाट महत्त्वपूर्ण मानिन्छ। यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको आगमन बढ्दै गएको छ।
तीन हजार ७ सय ९४ मिटरको उचाइमा रहेको मन्दिर क्षेत्र हिमपातका कारण यातायातमा कुनै ठूलो समस्या उत्पन्न नभए पनि चिसोबाट जोगिन तीर्थयात्रीहरूले सतर्कता अपनाउनुपर्ने समितिले सुझाव दिएको छ।





