काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका निजी मेडिकल कलेज र सरकारी अस्पताललाई सेवा शुल्क विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। तोकिएको भन्दा बढी शुल्क लिएको गुनासोपछि मन्त्री प्रदीप पौडेलले सबै नागरिकलाई सहजै जानकारी हुने गरी शुल्क विवरण सार्वजनिक गर्न आग्रह गरेका थिए।
कतिपय सेवाग्राहीले अस्पतालमा लाग्ने शुल्कबारे जानकारी नपाएको गुनासो गरेपछि मन्त्री पौडेलले यस विषयमा चासो लिएका हुन्। मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखामार्फत सबै अस्पताललाई शुल्क विवरण वेबसाइटमा राख्न र सेवा केन्द्रमा सजिलै जानकारी लिन मिल्ने गरी उपलब्ध गराउन परिपत्र गरेको छ।
के-के शुल्क सार्वजनिक गर्न भनिएको छ?
- शल्यक्रिया शुल्क
- शैय्या शुल्क (सामान्य, विशेष र आईसीयू शैय्या)
- रेडियोलोजी र ल्याब सेवा शुल्क
- टिकटसहितका अन्य सेवाहरूको शुल्क
सेवाग्राहीले यी विवरण सहजै हेर्न र बुझ्न पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ।
अनुगमन र कारबाहीको तयारी
मन्त्रालयले परिपत्र जारी गरेपछि शुल्क विवरण सार्वजनिक भए-नभएको अनुगमन गर्ने तयारी गरेको छ। "पहिलो चरणमा अनुगमन गरिनेछ।" मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘यदि तोकिएको शुल्क भन्दा बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइएमा नियमानुसार कारबाही हुनेछ।’
यस निर्देशनले स्वास्थ्य सेवामा पारदर्शिता बढाउँदै सर्वसाधारणलाई सहज सेवा पाउने वातावरण बनाउने मन्त्रालयको अपेक्षा छ।



